ढाका,०६ वैशाख । बंगलादेशको उत्तरी क्षेत्रमा एक हिन्दु अल्पसंख्यक नेताको अपहरणपछि कुटेर हत्या गरिएको छ। मृतकको पहिचान भावेश चन्द्र रायको रूपमा गरिएको छ, जो सो क्षेत्रका प्रमुख हिन्दुवादी सामाजिक नेताका रूपमा परिचित थिए।
स्थानीय सञ्चार माध्यमका अनुसार, रायलाई अज्ञात समूहले अपहरण गरेर निर्घात कुटपिट गरी हत्या गरेका थिए। हत्या पश्चात उनको शव एउटा भ्यानमा हालेर परिवारको घरमै ल्याइफालिएको प्रहरीले जनाएको छ।
अल्पसंख्यक हिन्दु समुदायमाथि बढ्दो आक्रमण र हिंसात्मक घटनाले बंगलादेशमा धार्मिक सहिष्णुता र मानव अधिकारको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ। घटनापछि स्थानीय हिन्दु समुदायमा त्रास र आक्रोश फैलिएको छ। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
यस घटनाले बंगलादेशमा अल्पसंख्यकको सुरक्षा र अधिकारप्रति सरकारको प्रतिबद्धतामाथि गम्भीर शंका उत्पन्न गराएको छ।

