पूर्वराष्ट्रपति र उपरराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन कुनै बाधा नरहेको प्रचण्ड भनाई

spot_img

काठमाडौं, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति र उपरराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन कुनै बाधा नरहेको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान, कानुन र अन्तर्राष्ट्रिय परम्पराले समेत उनीहरूलाई राजनीतिमा आउन नरोकेको प्रस्ट पारे।

“संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन रोक्दैन,” उनले भने, “उपराष्ट्रपतिजी आफैं पार्टीको सिपाहीकै रूपमा काम गर्न चाहन्छु भनेर भनिसकेपछि त्यसमा रोक लगाउने कुनै कारण छैन। मुख्य कुरा भनेको गणतन्त्र मजबुत हुनु आवश्यक छ।”

प्रचण्डले गणतन्त्रको रक्षाका लागि केवल राष्ट्रपति र उपराष्ट्रपतिले मात्र भूमिका खेलेर पुग्दैन भन्ने धारणा पनि व्यक्त गरे।

“गणतन्त्र नामले होइन, कामले जोगिन्छ। यो संस्थागत हुन जरुरी छ,” उनले भने।

उनले अहिले नै गणतन्त्र गम्भीर संकटमा परेको भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको पनि बताए।

“अहिलेलाई गणतन्त्रमाथि खतरा आएको भन्न सकिन्न। तर सबै शक्ति गणतन्त्रको रक्षाका लागि एकजुट हुन आवश्यक छ, नत्र खतरा आउन सक्छ भन्ने चेतावनी दिन सकिन्छ,” उनले थपे।

त्यस्तै, प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई आफूहरूको समर्थन भए पनि भ्रष्टाचारको मुद्दामा भने कुनै कसमको समर्थन नहुने स्पष्ट पारे।

spot_img

ताजा अपडेट

लोकप्रिय