काठमाडौं,०८ बैशाख । उपत्यकामा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–१ का १८ वर्षीय नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका–६ का १८ वर्षीय राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका–२ का २७ वर्षीय सुरेश ठाकुर हजाम रहेका छन्।
उनीहरू काठमाडौं महानगरपालिका–३२ र बुढानीलकण्ठ नगरपालिका–१० बसोबास गर्दै आएका थिए। प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा मोबाइल लुटपाट गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चैत ५ गते दिउँसो बसुन्धारामा प्रेम तामाङले चलाएको बा २ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर ठमेलमा सामान लिन जानु छ भन्दै ट्याक्सी चढेका ती युवाहरूले तामाङसँग फोन गर्न भन्दै मोबाइल लिएर फरार भएका थिए।
घटनापछि अनुसन्धान थालेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको जनाएको छ। हाल काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

