spot_img

कक्षा १२ को परीक्षा सञ्चालनमा वैकल्पिक संयन्त्र प्रयोग गर्ने निर्णय

spot_img
spot_img

काठमाडौं, ९ वैशाख । शिक्षकको आन्दोलनका बीच राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डले आवश्यक परे वैकल्पिक संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षक सहभागी नभएमा स्थानीय तह, जिल्ला प्रशासन, शिक्षा इकाइ, प्रदेश कार्यालयका कर्मचारी, निजी तथा क्याम्पस शिक्षकमार्फत परीक्षा सञ्चालन गरिने जानकारी दिए।

‘शिक्षकहरूलाई आह्वान गरेका छौं, तर नआए विकल्प पनि छ,’ शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, पालिका, अन्य संयन्त्रको सहयोगमा परीक्षा सञ्चालन हुन्छ।’

यसपटक कक्षा १२ को परीक्षा दिने विद्यार्थी संख्या ५ लाख ११ हजार रहेको छ भने देशभर १,५९० परीक्षा केन्द्र तोकिएको छ।

यद्यपि, शिक्षक महासंघले भने परीक्षा बहिष्कार गर्ने अडान दोहोर्‍याएको छ। महासंघका महासचिव तुलाबहादुर थापाले परीक्षा सञ्चालनमा कुनै सहयोग नगर्ने स्पष्ट पारेका छन्।

२० चैतदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा छन्। तालिमसमेत नगरी परीक्षा सुरु गर्न लागिएको भन्दै केही अभिभावक र विद्यार्थीले चिन्ता व्यक्त गरेका छन्।

तर बोर्ड दृढ छ— ‘परीक्षा रोकिँदैन।’ बाहिरी सुरक्षा व्यवस्था पूर्ववत रूपमा प्रहरीको सहायतामा हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय