काठमाडौं,१० वैशाख । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ काठमाडौं आइपुगेका छन्।


उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणका क्रममा शेख अब्दुल्लाहले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै नेपालका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह नेतृत्वको टोलीसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

शेख अब्दुल्लाहसँगै युएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, र नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी सहित युएई सरकारका वरिष्ठ अधिकारीहरू पनि काठमाडौं आएका छन्।
उपप्रधानमन्त्री नाह्यान नेतृत्वको यो प्रतिनिधिमण्डलले आजै अपराह्न नेपाल भ्रमण सकेर युएई फर्किने कार्यक्रम रहेको छ।