काठमाडौं, १० वैशाख । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका कार्लोसले प्रधानमन्त्री ओलीसँग भेट गरी नेपालको खेलकुद क्षेत्रको भविष्य र सम्वर्द्धनबारे संवाद गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले नेपालमा फुटबलसहित सम्पूर्ण खेलकुदको पूर्वाधार र अन्तर्राष्ट्रिय सहभागिता वृद्धिका लागि सरकारले अघि सारेका योजनाबारे जानकारी गराएका थिए। त्यस्तै, कार्लोसले नेपालजस्तो सम्भावनायुक्त देशमा फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र लगानीको आवश्यकता औँल्याएका थिए।
५२ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए। सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका उनी हाल विश्वभरका फुटबलप्रेमीका लागि प्रेरणाको स्रोत मानिन्छन्। स्वास्थ्य समस्याका कारण निर्धारित समयभन्दा केही दिन ढिलो नेपाल आएका कार्लोस नेपाल सुपर लिगको आकर्षणका रूपमा आएका हुन्।
उनको आगमनले नेपाली फुटबलप्रेमीबीच उत्साह थपिएको छ भने खेलकुदको क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने अवसरसमेत मिलेको छ।

