spot_img

तीनकुने घटनापछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका विरुद्ध पुनः म्याद थप

spot_img
spot_img

काठमाडौं, १० वैशाख । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका विरुद्ध पुनः म्याद थप प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबार उनीहरूलाई उपस्थित गराई थप म्यादको लागि पेश गरिएको हो।

जनकमान्डरको रूपमा चिनिएका प्रसाईं र उनका सुरक्षा गार्ड दीपक खड्कालाई दोस्रोपटक अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो। यसअघि चैत २९ मा उनीहरूविरुद्ध १२ दिनको म्याद दिइएको थियो। तीनकुने घटनामा संलग्न अन्य २० जना, जसमा रवीन्द्र मिश्र पनि छन्, चैत २६ मा १५ दिनको म्यादमा अनुसन्धान अघि बढाइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार अहिले पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ। हाल परिसरको हिरासतमा ६४ जना रहेका छन् भने ८५ जनालाई म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ। तीमध्ये २१ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ, तर उनीहरूविरुद्ध मुद्दा भने चलाइने प्रहरीले जनाएको छ।

प्रसाईं भारतको आसामबाट चैत २८ गते पक्राउ परेका थिए र चैत २९ मा काठमाडौं ल्याइएका थिए। उनी हाल झापाको बिर्तामोड नगरपालिका–५ निवासी हुन् र पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को नेतृत्व गरिरहेका थिए। त्यही अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीनकुनेमा सभा गर्न अनुमति पाएपछि भेला गरिएको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय