काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज मागहरू समाधान गर्न सरकार तयार रहेको जनाउँदै मन्त्री परिषद्का प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकमैत्री धारणा सार्वजनिक गरेका छन्।


बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले शैक्षिक आन्दोलनका कारण विद्यार्थीहरूको भविष्य जोखिममा पर्न सक्ने चेतावनी दिए। “शिक्षकहरूले उठाएका जायज मागप्रति सरकार संवेदनशील छ, तर शैक्षिक गतिविधि अबिलम्ब सुरु हुनु जरुरी छ,” उनले भने, “सरकार वार्ताका लागि तयार छ, आन्दोलन रोक्न र शिक्षणकार्यमा फर्कन म शिक्षकहरूप्रति आग्रह गर्छु।”
गुरुङले सरकार वार्तामा तयार रहँदासमेत शिक्षकतर्फबाट अपेक्षित सहकार्य नभएको गुनासो गरे। शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा बारे भने सरकारले कुनै आधिकारिक जानकारी नपाएको उनको भनाइ थियो।

यसैबीच, मन्त्रिपरिषद बैठकले तीनकुने घटनामा चैत १५ गते ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ।
मन्त्री गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि राष्ट्र बैंकका गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्ने जानकारी समेत दिएका छन्।