काठमाडौं,१२ बैशाख । बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिकहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्ताफुजिर रहमान, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय महम्मद फराद हुसेन चौधरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ महम्मद हनिफ, काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिलथान भन्ने काजीसहताव हुसेन र बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजीम मल्लिक रहेका छन् ।
उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका(९ सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

