बेइजिङ,१३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ता भएको दाबी गरे पनि चीनले अमेरिकासँग कुनै वार्ता नभएको प्रष्ट पारेको छ।
चीनको वाणिज्य मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा बेइजिङ र वासिङ्टनबीच व्यापार वा कर वृद्धिबारे कुनै औपचारिक वार्ता नभएको स्पष्ट रूपमा उल्लेख गरिएको छ।
ट्रम्पले गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा चिनियाँ नेतासँग कुराकानी भएको संकेत गरेका थिए। तर, चीनले सो दाबीलाई ‘भ्रामक’ भन्दै अस्वीकार गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिको विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, सम्झौताको त कुरै आउँदैन।”
चीनले व्यापार युद्ध अमेरिकाले सुरु गरेको आरोप लगाउँदै यदि अमेरिका वार्ताको माध्यमबाट समाधान खोज्न चाहन्छ भने सबै एकपक्षीय कर वृद्धि फिर्ता लिनुपर्ने चेतावनी दिएको छ।
ट्रम्पले चीनसँगको व्यापार असन्तुलनलाई लिएर चिनियाँ सामानमा उच्च कर लगाएको कारण दुवै देशबीच व्यापार युद्ध चर्किएको छ।
हाल अमेरिकी कर वृद्धिका कारण अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा कर १४५ प्रतिशतसम्म पुगेको छ भने चीनले पनि प्रतिशोधस्वरूप अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ।
ट्रम्पले आगामी केही हप्तामा व्यापार सम्झौता घोषणा गर्ने दाबी गरे पनि चीनसँग हाल कुनै संवाद नभएको पुष्टि भएपछि दुबै देशबीचको सम्बन्ध अझ जटिल हुने देखिएको छ।

