देउवा फर्केपछि सरकार ढल्ने भ्रम चुँडिएको छ : प्रधानमन्त्री ओली

spot_img

काठमाडौं,१३ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम अहिले पूर्णतः समाप्त भएको बताएका छन्।
शनिबार नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भ्रम फैलाउनेहरू अहिले मौन भएको टिप्पणी गरे।

“सरकार ढल्छ भन्ने हल्ला फैलाइयो, तर शेरबहादुरजी फर्केर आएपछि आफैँले सरकार नढल्ने भनेपछि हल्ला गर्नेहरू गले,” ओलीले भने, “हामी आफ्नो काम र चुनावी अभियानमा केन्द्रित रहनुपर्छ।”

प्रधानमन्त्री ओलीले संसद्को बजेट अधिवेशन प्रारम्भ भएसँगै सन्तुलित नीति तथा कार्यक्रम र बजेट तयार पार्ने कार्यमा सबै सांसदको ध्यान केन्द्रित गरिनुपर्ने उल्लेख गरे।
उनले मुलुकमा स्थायित्व, विकास, र समृद्धिका लागि सरकारले दुवै ठूला दलबीच सहकार्य गरेर अगाडि बढिरहेको स्पष्ट पारे।

संविधान विरोधी र हिंसात्मक गतिविधि रोक्न सरकारले आवश्यक परे कडा कदम चाल्न सक्ने संकेत पनि प्रधानमन्त्री ओलीले गरे।
साथै, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको सन्दर्भमा ओलीले अब नेपालले आफ्नै क्षमताले विकासको बाटो पहिल्याउनुपर्ने आवश्यकता औँल्याए।

एमालेको “मिशन २०८४” लाई सफल बनाउन आन्तरिक एकता र सहकार्यमा ध्यान दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सांसदहरूलाई मर्यादित, सुसंस्कृत र तथ्यमा आधारित ढंगले संसदमा प्रस्तुत हुन आग्रह गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय