spot_img

यो साता कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,३० जेठ । जल तथा मौसम विज्ञान विभागले यो साता देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी प्रणालीको प्रभाव बढी रहनेछ। हिमाली भू–भागमा कोशी प्रदेशमा साताभर वर्षा तथा हिमपातको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा साताको सुरु र मध्यमा र अन्त्यमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि साताभर मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पहाडी क्षेत्रमा कोशी प्रदेशमा साताभर वर्षा हुने, बागमती र गण्डकीमा सुरु र मध्यमा केही स्थानमा तथा अन्त्यमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि विभिन्न समयमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

तराई क्षेत्रमा कोशी प्रदेशमा साताभर केही स्थानमा, मधेश, बागमती र गण्डकीमा सुरु र मध्यमा थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिममा पनि विभिन्न समयमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

साता सुरुमा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको चेतावनी दिइएको छ।

तापक्रमका बारेमा विभागले हिमाली क्षेत्रमा उल्लेख्य परिवर्तन नहुने तर अन्य भू–भागमा हल्का वृद्धि हुन सक्ने जनाएको छ। अन्त्यतिर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको सम्भावना पनि रहेको छ।

समग्रमा यो साता देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय