काठमाडौं,३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत आज तय गरिएको मतदान प्रक्रिया समयमै सुरु हुन सकेको छैन।
काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको थियो। तर दिउँसो ३ बजेसम्म पनि मतदान प्रक्रिया सुरु नभएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।
अधिवेशन यसअघि जेठ २६ गते हेटौंडामा उद्घाटन गरिएको थियो। विवादका कारण रोकिएको मतदान प्रक्रिया शनिबार काठमाडौंमा सम्पन्न गर्ने तय भए पनि पुनः ढिलाइ भएको हो।
मतदानमा ढिलाइ भएपछि केही प्रतिनिधिहरू अधिवेशन स्थल छोडेर फर्किन थालेको पनि बताइएको छ।
प्रदेश सभापति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यबीच प्रतिस्पर्धा भइरहेको छ।
पार्टीले प्यानल बनाएर चुनाव लड्न नपाइने भने पनि लामिछाने र अर्याल समूहले अघोषित रूपमा प्यानल बनाएर प्रचार गरिरहेको आरोप समेत लागेको छ। लामिछाने समूहबाट महामन्त्री पदमा बदनकुमार भण्डारी र अर्याल समूहबाट मेनुका ठकुरी उम्मेदवार रहेको बताइएको छ।
तर मतदान प्रक्रिया सुरु हुन नसक्दा अधिवेशनको वातावरण अन्योलपूर्ण बनेको प्रतिनिधिहरूले बताएका छन्।




