spot_img

८ महिनादेखि तलब नपाएपछि छिपहरमाईका कर्मचारीहरू आन्दोलनमा

spot_img
spot_img

वीरगन्ज,३० जेठ । पर्साको छिपहरमाई गाउँपालिकामा आठ महिनादेखि तलब नपाएको भन्दै करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। दर्जनौं कर्मचारीहरूले कामकाज ठप्प पार्दै विरोध जनाएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ।

आन्दोलनरत कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापन नै कठिन भएको गुनासो गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि गाउँपालिका प्रशासनबाट कुनै ठोस समाधान नआएको उनीहरूको आरोप छ।

कर्मचारी आन्दोलनका कारण सिफारिस, दर्ता लगायतका दैनिक प्रशासनिक सेवा प्रभावित भएका छन्। सेवा लिन पुगेका सेवाग्राहीहरू निराश भएर फर्किन बाध्य भएका छन् भने विकास योजना कार्यान्वयनमा समेत असर परेको छ।

स्थानीय स्रोतका अनुसार गाउँपालिकाको आन्तरिक आम्दानी कमजोर हुँदा आर्थिक संकट चुलिएको हो। विगतमा आवश्यकता भन्दा बढी करार तथा ज्यालादारी कर्मचारी नियुक्त गरिएकाले अहिले तलब व्यवस्थापनमा समस्या देखिएको बताइन्छ। राजनीतिक पहुँच र व्यक्तिगत प्रभावका आधारमा कर्मचारी भर्ना गरिएको चर्चा पनि स्थानीय तहमा छ।

यसअघि विभिन्न स्रोतबाट तलब व्यवस्थापन हुँदै आए पनि हाल सञ्चित कोषमा दबाब बढेपछि भुक्तानी रोकिएको जनाइएको छ। संघीय स्तरबाट खर्च नियन्त्रणमा कडाइ भएपछि समस्या झन् गम्भीर बनेको छ।

यता गाउँपालिका अध्यक्ष मनोज गुप्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भई निलम्बनमा परेपछि नेतृत्व तहमा निर्णय प्रक्रिया पनि प्रभावित बनेको छ। यसले तलब निकासा र कर्मचारी व्यवस्थापनमा थप जटिलता थपेको छ।

स्थानीय सरोकारवाला, कर्मचारी र जनप्रतिनिधिहरूले वार्तामार्फत तत्काल समाधान खोज्न, वित्तीय अवस्था पारदर्शी बनाउन र बक्यौता तलब भुक्तानीको स्पष्ट योजना ल्याउन माग गरेका छन्। समस्या समाधानमा ढिलाइ भए सेवा प्रवाह झनै प्रभावित हुने चेतावनी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय