काठमाडौँ,१६ वैशाख । सत्तारूढ नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूको संवेदनशील मागलाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गरेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ।


प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले शिक्षकमाथिको आन्दोलनलाई पेसागत र सामुदायिक संवेदनशीलता भएको बताए। तर, उनले यस आन्दोलनलाई सरकारलाई अस्थिर बनाउने माध्यम बनाउने प्रयास भइरहेको दाबी गरे।
“शिक्षकहरूको आन्दोलनलाई सत्ता ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्न खोजिँदैछ,” सांसद गैरेले भने, “यस्तो प्रवृत्तिले आन्दोलनको सार्थकता समाप्त गर्छ।”

उनले प्रतिपक्षी दलहरूले आन्दोलनलाई उकास्ने कार्य रोके मात्र सोमबार संसदमा दर्ता गरिएको ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’को औचित्य रहने बताए। गैरेले संसद र आन्दोलनस्थलमा फरक फरक अभिव्यक्ति दिनु समस्याको समाधान होइन, उल्टै जटिलता बढाउने चेतावनी पनि दिए।