गोपनीय सूचना सार्वजनिक गर्न बाध्य छैनौं : गृहमन्त्री लेखक

spot_img

काठमाडौं,०६ जेठ । गृहमन्त्री रमेश लेखकले जे सूचना माग्यो त्यही सूचना दिनुपर्ने भन्ने नभएको बताएका छन् ।

सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउँदै उनले जे माग्यो त्यही सूचना भने दिन बाध्य नहुने बताएका हुन् । ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन’, उनले भने, ‘कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुँदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् ।’

मन्त्री लेखकले वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका लगायतका विषयहरु पनि पारदर्शिताका नाममा, सुशासनका नाममा दिने हो भने मुलुकलाई थितिमा बसाउन नसकिने बताए ।

उनले अघि थपे, ‘सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु । गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुँदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनू ।’

मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको पनि बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय