काठमाडौं,११ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौं सहर नेकपा एमालेको “नियन्त्रण” मा हुनुपर्ने बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित बागमती प्रदेश अन्तर्गत एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले राजावादी शक्तिहरूको गतिविधि तीव्र हुँदै गएकाले त्यसविरुद्ध एमालेको उपस्थिति सशक्त रूपमा देखिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दोहोर्याउँदै भने, “प्रतिगामी सोच बोकेकाहरू सक्रिय भइरहेका छन्, तर एमाले कार्यकर्ताहरूको मनोबल गिर्नुहुँदैन।” उनले राजावादीहरूले फैलाउने ‘जनतालाई रैती बनाउने’ भ्रमको पनि खुलासा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए।
उनको भनाइमा, जेठ १५ मा जनताको समर्थन देखाउने जिम्मा एमाले कार्यकर्ताहरूको काँधमा रहेको छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई हाल देशमा देखा परेको राजसंस्थाको समर्थनमा भइरहेका प्रदर्शनसँग जोडेर हेरिएको छ।

