काठमाडौं,३० जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको अवसरमा सो घटनासम्बन्धी फाइल पुनः खोलिने भएको छ। राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना अझैसम्म रहस्यमय मानिँदै आएको छ।
गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन तथा अनुसन्धानका लागि खोल्ने घोषणा गरेसँगै घटनाबारे नयाँ ढंगले सत्यतथ्य बाहिर आउला कि भन्ने चासो बढेको छ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो। तर पछि नेता नेपालले समितिबाट राजीनामा दिएका थिए।
उक्त समितिले एक साताको अध्ययनपछि तयार पारेको प्रतिवेदनको संक्षेप सार्वजनिक गरिएको थियो, तर त्यस प्रतिवेदनप्रति षड्यन्त्रपूर्ण भएको भन्दै व्यापक आलोचना समेत भएको थियो।
घटनापछि नारायणहिटी दरबारलाई संग्रहालयमा रूपान्तरण गरिएको छ। अब पुनः फाइल खोलिएसँगै लामो समयदेखि रहस्यको घेरामा रहेको दरबार हत्याकाण्डबारे नयाँ निष्कर्ष आउने अपेक्षा गरिएको छ।




