गणतन्त्र कुनै उपहार होइन, जनताको बलिदानको उपलब्धि हो : प्रधानमन्त्री ओली

spot_img

वीरगन्ज,१५ जेठ । नेपालमा १८औँ गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई नेपाली जनताको महान संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भन्दै शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, “गणतन्त्र हामीले पाएका होइनौं, आर्जन गरेका हौं। यो हजारौं जनताको बलिदान र लामो आन्दोलनको प्रतिफल हो।” उनले हुकुमी शासनको अन्त्य गरी जनताको निर्णयबाट संचालित व्यवस्था स्थापना गर्नु नै गणतन्त्रको मूल आत्मा भएको उल्लेख गरे।

प्रधानमन्त्रीले निरङ्कुश राजतन्त्रकालमा सञ्चार, अभिव्यक्ति स्वतन्त्रता र जनअधिकारमाथि लगाइएको बन्देजको स्मरण गर्दै आजको पुस्ताले पाएको स्वतन्त्रताको मूल्य बुझ्न आग्रह गरे। “आज सामाजिक सञ्जालमार्फत जनता खुला रूपमा विचार राख्न सक्छन्, तर विगतमा सञ्चारमाध्यम नै बन्द गरिन्थे,” उनले स्मरण गराए।

ओलीले गणतन्त्रले जनताका प्रतिनिधि चयन गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै देशभर ३६ हजारभन्दा बढी जनप्रतिनिधि जनमतबाट चयन भएको तथ्य प्रस्तुत गरे। उनले पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएको बताए।

प्रधानमन्त्रीले गणतन्त्रको विरुद्ध भइरहेका प्रचारप्रति सचेत रहन आग्रह गर्दै निरङ्कुश मानसिकताले अहिलेको प्रगतिको विरुद्ध असत्य सन्देश फैलाइरहेको बताए। “त्यस्ता प्रयासलाई आजको चेतनशील समाजले स्वीकार गर्ने छैन,” उनले प्रस्ट पारे।

प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार र रोजगारीमा गणतन्त्र कालमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्रको १७ वर्षले राजतन्त्रको २५० वर्षको तुलनामा कैयौँ गुणा अघि बढाएको बताए। साथै, उनले भ्रष्टाचार, बेरोजगारी र गरिबी जस्ता चुनौतीहरूलाई लोकतान्त्रिक अभ्यासमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

अन्त्यमा प्रधानमन्त्रीले गणतन्त्रलाई कुनै दलको स्वामित्व नभई जनताको व्यवस्था रहेको उल्लेख गर्दै जनआन्दोलनका शहीदहरू, अग्रज नेताहरू, नागरिक समाज र सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। उनले गणतन्त्रलाई व्यवहारमा संस्थागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा साकार पार्न सबैलाई ऐक्यबद्ध भएर लाग्न आग्रह गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय