काठमाडौँ, २६ जेठ । मलेसियाको उत्तर क्षेत्रमा विश्वविद्यालय फर्किँदै गरेको बस दुर्घटनामा परेर कम्तीमा १५ जनाको ज्यान गएको छ। तीव्र गतिमा रहेको बस एक मिनीभ्यानसँग ठोक्किँदा दुर्घटना भएको हो।
मृतकमध्ये १४ जना सुल्तान इद्रिस शिक्षा विश्वविद्यालयका विद्यार्थी रहेका छन् भने एक जना बसका सहचालक हुन्। दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
दुर्घटना आइतबार राति करिब १ बजेपछि भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि घटनास्थलमा बचेका विद्यार्थीहरू चिच्याउँदै रुँदै सहयोगको याचना गरिरहेका थिए। दृश्य अत्यन्त हृदयविदारक र अस्तव्यस्त थियो।
मृत्यु भएका अधिकांश विद्यार्थीहरूको उमेर २१ देखि २३ वर्षको आसपास रहेको बताइएको छ।
दुर्घटनाप्रति मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुःख व्यक्त गर्दै उच्च शिक्षा मन्त्रीलाई पीडित परिवारलाई आवश्यक सहयोग र राहत दिन निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यस्ता हृदयविदारक घटनाबाट हामी सबैले सतर्क र सजग हुनुपर्ने गम्भीर सन्देश पाएका छौं।”

