काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न भएको आरोपमा एक महिलासहित आठजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–४ रानीपाटी पानीट्यांकी नजिकको एक घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मीको रेसुंगा गाउँपालिका–८की उषा थापासहित आठजना छन् । उषा सोही घरमा डेरा गरी बसेकी छिन् । पक्राउ परेका अन्यमा राजकुमार शाही, सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ, तुलराम थिङ, मनकुमार केरुङ लिम्बू, धनबहादुर भोलन र राजकुमार तामाङ छन् ।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद एक लाख १० हजार ६३० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

