काठमाडौं,२८ जेठ । अमेरिकामा आप्रवासी नीतिविरुद्ध जनआक्रोश चुलिँदै गएको छ। लस एन्जलसबाट सुरु भएको विरोध लहर अब न्यूयोर्क, सान फ्रान्सिस्को हुँदै अन्य सहरहरूमा फैलिँदै गएको छ।
न्युयोर्कमा प्रदर्शनकारीहरूले संघीय आप्रवासी नियन्त्रण निकाय आइसिई (ICE) को कार्यालय अगाडि प्रदर्शन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासी धरपकड नीति खारेज गर्न माग गरे। उनीहरूले न्युयोर्कबाट नै आइसिई को कार्यालय हटाउनुपर्ने आवाज समेत उठाएका छन्।
लस एन्जलसमा भएको विरोध प्रदर्शनमा अमेरिकी सुरक्षाबलको प्रयोग गरिएकोमा जनप्रतिनिधिहरू आक्रोशित भएका छन्। राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना परिचालन गरेपछि लस एन्जलसका मेयर कारेन बास र क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले कडा आपत्ति जनाएका छन्।
मेयर बासले केन्द्र सरकारको कदमबारे आफूलाई जानकारी नदिइएकोमा असन्तुष्टि जनाउँदै, शहरमा अवस्था जटिल भएमा कर्फ्यु लाग्न सक्ने चेतावनी दिएकी छन्।
सान फ्रान्सिस्कोमा पनि आप्रवासी समर्थनमा व्यापक प्रदर्शन भयो। प्रदर्शनका कारण दिउँसो १ बजेपछि स्थानीय अदालत बन्द गरियो भने १०१ बाटाको केही लेन अवरुद्ध भए । तीन दिनको अवधिमा यस्तो ढंगले यातायात ठप्प भएको यो दोस्रोपटक हो।
गभर्नर गेभिन न्यूसमले आप्रवासी धरपकड रोक्नका लागि संघीय अदालतमा निवेदन दर्ता गरेका थिए। तर अदालतले त्यो निवेदन अस्वीकार गरेपछि उनी अझै आक्रोशित भएका छन्।

