अमेरिकामा आप्रवासन नीतिविरुद्ध आन्दोलन तीव्र

spot_img

काठमाडौं,२९ जेठ । अमेरिका भर आप्रवासन नीतिविरुद्ध चर्किएको आन्दोलन नियन्त्रणमा लिन कठिन भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइका साथ अघि सारेको आप्रवासन नीतिको विरोधमा सुरु भएको आन्दोलन अब क्यालिफोर्नियाबाट देशका अन्य ठूला राज्यमा पनि फैलिएको छ।

गत बिहीबार लस एन्जलसबाट सुरु भएको प्रदर्शन विशेषतः कागजातविहीन आप्रवासीहरूविरुद्ध भइरहेको छापा र गिरफ्तारीका घटनालाई लिएर चर्किएको हो। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन संस्था (ICE) ले दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूलाई लक्षित गर्दै छापा मार्ने अभियान चलाएपछि विरोधमा प्रदर्शन सुरु भएको हो।

मंगलबारदेखि कोलोराडोको डेन्भर, इलिनोइसको सिकागो र न्यूयोर्कको म्यानहटनमा पनि प्रदर्शन चर्किएको छ। यद्यपि अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको थियो। डेन्भरमा स्थिति तनाबपूर्ण बनेपछि प्रहरीले अश्रुग्यास समेत प्रयोग गर्नुपरेको थियो।

सिकागो र म्यानहटनमा संघीय भवनहरूको सुरक्षा कडा पारिएको छ। म्यानहटनमा प्रहरीले प्रदर्शनकारीहरूसँग झडप भएपछि ४५ जनालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि ट्रम्प प्रशासनले लस एन्जलस क्षेत्रमा २,००० नेशनल गार्ड र ७०० सेना परिचालन गरेको छ। त्यसपछि पनि आन्दोलन नरोकिएपछि लस एन्जलस डाउनटाउन क्षेत्रमा कर्फ्यु लगाइएको हो।

सुरक्षाको दृष्टिकोणले मंगलबार साँझ ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको थियो। त्यसपछि बुधबार दिनभर कर्फ्यु हटाइएको भए पनि अवस्था पुनः बिग्रन सक्ने आकलन गर्दै मेयर करेन बासले फेरी साँझ ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु घोषणा गरेकी छिन्।

मेयर बासका अनुसार आन्दोलनको क्रममा लस एन्जलसको डाउनटाउन क्षेत्रमा सोमबार राति मात्रै २३ वटा व्यवसायहरू लुटिएका छन्। उनले पत्रकार सम्मेलनमा जनजीवन प्रभावित भएको र स्थानीय व्यापारमा ठूलो क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरिन्।

कर्फ्यु अहिले लस एन्जलसको कुल ५२३ वर्ग माइल क्षेत्रफलमध्ये १ वर्ग माइल क्षेत्रमा मात्र लागू गरिएको भए पनि अवस्था अनुसार क्षेत्र विस्तार गरिने चेतावनी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय