अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, २४२ जना सवार

spot_img

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। लन्डनका लागि उडान तयारी गरिरहेको विमानमा २४२ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए।

विमान टेकअफको क्रममा दुर्घटनामा परेको हो। विमान अहमदाबाद विमानस्थलको सीमा क्षेत्र नजिकै रहेको एयर कस्टम कार्गो कार्यालयको छेउमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनापछि घटनास्थलमा धुवाँको बाक्लो मुस्लो देखिएको थियो। प्रहरी, दमकल र एम्बुलेन्ससहित उद्धार टोली तुरुन्तै घटनास्थल पुगेको छ। ७ वटा दमकल र एनडीआरएफका २ वटा टोलीले उद्धार कार्य थालेका छन्।

भारतका गृहमन्त्री अमित शाहले दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी सुरक्षित छन् या छैनन् भन्नेबारे भने आधिकारिक पुष्टि भइसकेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय