सिम्रौनगढ,०३ असार । बाराको सिम्रौनगढ नगरपालिका वडा नं-९ टोल बसवरियास्थित प्रसिद्ध देवताल झरोखर पोखरी नजिक अभ्यास मनसुन-५ सम्पन्न भएको छ । मनसुन सुरु भएसँगै बाढी र अन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीस्वरूप यो अभ्यास गरिएको हो ।
कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारीले विपद् आइसकेपछि चिन्तित हुनुभन्दा पहिले नै त्यसबाट बच्न पूर्वतयारी गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले परिवारदेखि स्थानीय तह र जिल्लासम्म विपद्बाट बच्न सकिने सामग्रीहरूको व्यवस्थापन गरी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका साथै, समाजमा बेलाबेलामा विपद्बाट कसरी बच्न सकिन्छ भन्ने अन्तरक्रिया कार्यक्रम गरी जनतालाई जागरुक गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न यस अभ्यास मनसुन-५ अन्तर्गत बाढीबाट कसरी बच्ने र कसरी बचाउने भन्ने विषयमा झरोखर पोखरीमा प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको थियो । यस अभ्यास कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ४० जना सुरक्षाकर्मीले भाग लिएका थिए ।
सो अवसरमा संविधान सभा सदस्य रामचन्द्र प्यासी, नेपाली सेनाका बारा प्रमुख सेनानी अशोक कुमार क्षेत्री, सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, बाराका सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के।सी।, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाई, सशस्त्र प्रहरी बीओपी गोलागञ्जका प्रहरी निरीक्षक ईश्वर कार्की लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यो अभ्यासले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्बाट जोगिनका लागि आवश्यक तयारीमा महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।




