काठमाडौं,०८ असार । एसीसी मेन्स यु-१६ इस्ट कप क्रिकेटको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। मलेसियाको युकेएम ओभलमा आइतबार भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो।
सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सकेको थियो। जवाफी ब्याटिङमा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालका ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौका प्रहार गर्दै ५५ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान गरे। रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्का सहित ४० रन बनाए। सिंगापुरका बलर आकाश तेजाले ३ विकेट र युभान पाण्डेले १ विकेट लिए।
सिंगापुरका कप्तान रियन नायकले ५३ बलमा ९ चौकासहित ५३ रन बनाए भने आहान भुधानभामले ३३ बलमा ३८ रन गरे। नेपालका कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्टले ३ विकेट लिए। शुभम खनाल र अभय यादवले समान रूपमा १-१ विकेट हात पारे।
यस जितसँगै नेपालले २ अंक प्राप्त गरेको छ। नेपालले आगामी मंगलबार जापानसँग दोस्रो खेल खेल्नेछ। प्रतियोगितामा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान समावेश ‘ए’ समूहमा छन् भने ‘बी’ समूहमा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

