गाजामा थप ८ बन्धकको शव फेला, नेपाली युवा विपिन जोशी अझै बेपत्ता

spot_img

काठमाडौं,०९ असार । गाजाबाट हालै आठ जना इजरायली बन्धकको शव फेला परेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनसहित आठ जनाको शव गाजामा फेला परेको पुष्टि गरेका हुन्।

नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै जीवित वा मृत सबै बन्धकहरूलाई फिर्ता ल्याउने अभियान जारी रहेको बताएका छन्। “हामी आफ्ना सबै अपहरित नागरिकहरूलाई घर फर्काउनेछौं,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर, गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा हराइरहेका नेपाली युवा विपिन जोशीको अवस्था अझै अज्ञात छ। कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। हमासको आक्रमणको क्रममा उनी अपहरणमा परेका थिए। सो दिनकै हमलामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

नेपाल सरकारले जोशीको अवस्थाबारे जानकारी लिन इजरायली पक्षसँग निरन्तर कूटनीतिक पहल गरिरहेको बताउँदै आएको छ, तर अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन।

इजरायली सेनाका अनुसार हालसम्म गाजामा करिब ५४ जना इजरायली बन्धक छन्, जसमा ३१ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ। बाँकीको अवस्थाबारे खोज तथा उद्धार अभियान जारी रहेको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय