काठमाडौं,०९ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका तय गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईका अनुसार, गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण कार्यमा ३२ दिनको ढिलाइ भएको हो। चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूको आन्दोलनले उत्तरपुस्तिका समयमा परीक्षण हुन सकेको थिएन।
उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताए। उनले सामान्यतया यो प्रक्रिया पूरा हुन ३५ दिन लाग्ने भए पनि शिक्षकहरूको आन्दोलनले ढिलाइ भएको जानकारी दिए। बोर्डले यो ढिलाइलाई कम गर्न रातदिन डबल सिफ्टमा काम गरिरहेको छ। भट्टराईका अनुसार, ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास भइरहेको छ।
बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ, यद्यपि तोकिएको मिति अझै निश्चित भएको छैन। गत चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए। नतिजा प्रकाशनमा भएको यो ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पनि पछि धकेलिने भएको छ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार असार ६ गते नतिजा, असार २२ गतेसम्म पुनर्योग, साउन १२ गते पुनर्योगको नतिजा, साउन १९ र २० गते पूरक परीक्षा तथा भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तालिका थियो। तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि यी सबै कार्यक्रमहरूमा समेत ढिलाइ हुने निश्चित भएको छ।




