काठमाडौं,०९ असार । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा पैसा राख्ने क्रम तीव्र भएको छ। आइतबारसम्म वित्तीय प्रणालीको करिब ४ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको छ। चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा बैंकहरूले कर्जा लगानी करिब शून्य बनाएकाले वित्तीय क्षेत्रमा तरलता बढेको हो। साथै, रेमिट्यान्स आप्रवाह र निर्यातमा देखिएको सुधारले पनि तरलता बढाउन थप मद्दत पुगेको छ।
आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले २ खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन्। यसमध्ये १ खर्ब ६७ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा मार्फत र ५६ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत जम्मा भएको छ। कुल जम्मा भएको ४ खर्ब ३५ अर्ब रुपैयाँमध्ये २ खर्ब ६८ अर्ब ५० करोड निक्षेप संकलनको हो भने १ खर्ब ६७ अर्ब स्थायी निक्षेप सुविधा अन्तर्गतको हो।
चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भएदेखि केन्द्रीय बैंकले दीर्घकालीन अवधिको निक्षेप उपकरण जारी गर्दै आएको छ। आइतबार केन्द्रीय बैंकले ४२ दिन अवधिको ६० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो।यद्यपि, बैंकहरूले ५६ अर्ब २० करोड रुपैयाँ मात्र दिएका छन्। यसका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ३५ र न्यूनतम २.९६७५५ ब्याजदर माग गरेका थिए। यसको औसत ब्याजदर २.९९७३५ कायम भएको केन्द्रीय बैंकले जनाएको छ, जुन असार ४ गतेको २.९९६३५ को औसत ब्याजदर भन्दा सामान्य धेरै हो।

