काठमाडौं,११ असार । इरानको मशहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एक्जिट परमिट (देश छाड्ने अधिकार दिने सरकारी अनुमति पत्र) नभएको भन्दै ९ जना नेपालीमध्ये ७ जनालाई स्वदेश फर्कन नदिई रोकिएको छ। उनीहरूलाई विमानस्थल प्रशासनले फर्काइदिएको हो।
केवल दुई नेपाली बुटवलका सुमन गैरे र गणेश पोखरेल सँग एक्जिट परमिट रहेकाले उनीहरूलाई विमान चढ्न अनुमति दिइएको थियो। उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले रिसिभ गरेर काठमाडौं पठाइएको छ।
उद्धार प्रयासमा संलग्न रहेका विष्णुप्रसाद भुसालका अनुसार अन्य सात जना नेपाली अहिले मशहदमै होटलमा बसिरहेका छन् र भोलिको उडानका लागि एक्जिट परमिटको प्रक्रिया अघि बढाइरहेका छन्। “हामीलाई विमानस्थलमै फर्काइयो। एक्जिट परमिट बिना जान दिइएन। भोलिको लागि प्रयास गरिरहेका छौं,” उनले बताए।
फर्काइएका नेपालीहरूमा उदयपुरकी गायत्री कार्की थापा, उनका छोरा उत्सव थापा, विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, यज्ञ मरासिनी र राजु खनाल रहेका छन्। त्यस्तै, हरि थापा नामका नेपाली भारतीय दूतावासको ड्युटीमा खटिएका छन् भने विष्णुप्रसाद बन्जाडे राहदानी नहुँदा रोकिएका छन्।
उनीहरू सबै ८ देखि २४ वर्षसम्म तेहरानमा विभिन्न रेस्टुरेन्ट र कूटनीतिक मिशनहरूसँग आबद्ध भई काम गर्दै आएका थिए। भारतीय दूतावासले उद्धार प्रक्रिया अघि बढाएपछि ९ सय किलोमिटर टाढाको मशहदसम्म बसमार्फत आइपुगेका थिए।
भुसालले भने, “यदि भोलिसम्म एक्जिट भएन भने हामी तेहरान फर्किन्छौं र त्यहाँबाट प्रक्रिया पुरा गरेर फर्कने प्रयास गर्छौं। यहाँको अवस्था सामान्य छ, डराउनु पर्ने अवस्था छैन।”
तेहरानको जेलमा रहेका पाँच नेपालीको उद्धार प्रक्रिया पनि सुरु गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासहरूले संयुक्त समन्वयमार्फत सबै नेपालीको सुरक्षित स्वदेश फिर्तीको प्रयास गरिरहेको जनाएका छन्।

