spot_img

काठमाडौं,१८ असार । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक आज बिहान ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग सचिवालय लगायत विभिन्न मन्त्रालयहरूमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।

उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। साथै, उनले नै भन्सार विधेयक, २०८० लाई पनि पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।

यसका अतिरिक्त, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई राष्ट्रियसभामा टेबुल गर्नेछन्।

हालै संघीय निजामती सेवा विधेयकलाई लिएर विवाद चुलिएको छ। संसदीय समितिमा लामो छलफलपछि तयार गरिएको विधेयक प्रतिनिधिसभाबाट पास हुँदा केही महत्वपूर्ण प्रावधानहरू परिवर्तन भएको आरोप लागिरहेको छ। विशेष गरी दफा ८२ को उपदफा ४ मा उल्लेख गरिएको ‘कूलिङ अफ पिरियड’ व्यवस्था एकातिर राखिएको भए पनि त्यसको प्रभाव उपदफा ५ मा निष्क्रिय पारिएको देखिन्छ। यस विषयमा राष्ट्रियसभाले सुधार गर्नुपर्ने माग तीव्ररूपमा उठिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय