वीरगन्ज,१८ असार । काठमाडौंमा डेटिङ एपको आवरणमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चिनियाँ नागरिकहरूले दमकल चोकस्थित एक घर भाडामा लिई ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि’ दर्ता गरेका थिए। तर, सो कम्पनीको नाममा उनीहरूले अवैध कल सेन्टर, डेटिङ एप सञ्चालन र क्रिप्टो कारोबार गरेको आरोप प्रहरीले लगाएको छ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार, यी चिनियाँ नागरिकहरूले नेपाली युवा–युवतीहरूलाई डेटिङ एपमार्फत सम्पर्क गरी ‘अनलाइन डेटिङ स्क्याम’मा संलग्न गराउने गरेको पाइएको छ। यसका अतिरिक्त, उनीहरूले अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार पनि गर्दै आएको सीआईबीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १३ लाख ९९ हजार ९५० रुपैयाँ अवैध रकम बरामद गरेको छ। यस घटनाको अनुसन्धानका क्रममा सीआईबीले कुल ५२ जनालाई नियन्त्रणमा लिएकोमा, मुख्य ६ जना चिनियाँ नागरिकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ भने बाँकी ४६ जनालाई हिरासतबाहिर राखिएको छ। यो घटनाले साइबर अपराध र अवैध वित्तीय कारोबारमा विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको चुनौतीलाई उजागर गरेको छ। प्रहरीले यसको जालो थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ ।