spot_img

“बिहारबाट उठेको जनचेतना, अब तराई–मधेसमा”

spot_img
spot_img

भारतको बिहार राज्यमा पछिल्ला वर्षहरूमा एक गहिरो राजनीतिक रूपान्तरणको संकेत देखिएको छ। यो रूपान्तरण कुनै पार्टी विशेषको जित–हारमा मात्र सीमित छैन, यो जन–राजनीतिमा आम मानिसको सहभागिता र चेतनाको पुनर्जागरण हो। र यसको केन्द्रमा छन्—प्रशान्त किशोर।

राजनीतिक रणनीतिकारको रूपमा पहिचान बनाइसकेका प्रशान्त किशोरले ‘जनसुराज अभियान’ मार्फत राजनीति फेरि जनताको हातमा फिर्ता ल्याउने प्रयास थालेका छन्। उनले राजनीतिलाई पार्टीको पर्खालबाट निकालेर सिधा गाउँ–टोल, खेत–खलिहान र जनताको मन–मस्तिष्कसम्म पुर्याएका छन्। यही सन्देश अहिले नेपालका तराई–मधेसका भूभागमा पनि प्रभाव पार्न थालेको छ।

जनसुराजको मोडेल विशुद्ध रूपमा विकासमुखी, सहभागी र पारदर्शी राजनीति हो। कुनै राजनीतिक दलको छायाँमा होइन, जनताको साथमा बनेको यो अभियानले शिक्षा, स्वास्थ्य, भ्रष्टाचार, रोजगारीजस्ता आधारभूत विषयमा गहन संवाद सुरु गरेको छ। प्रशान्त किशोरको यो शैलीले नेपालको तराई–मधेसमा पनि आम जनताको ध्यान खिच्न थालेको छ।

विशेषतः युवापुस्ताबीच अब यस्तो प्रश्न उठ्न थालेको छ:
“हाम्रै देशमा पनि यस्तो राजनीतिक मोडेल किन नहोस्?”

नेपालका तराई–मधेसका धेरै भूभागमा विगत दशकदेखि एउटै राजनीतिक अनुहार, उस्तै भाषण र उही असफलता दोहोरिइरहेका छन्। अधिकारका नाममा राजनीति गर्नेहरू आफैं विशेषाधिकारको जालमा फसेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीजस्ता विषयमा सुधारको साटो वाचा र नारामै राजनीति अडिएको छ।

यस सन्दर्भमा प्रशान्त किशोरको राजनीति एउटा चेतनामूलक झट्काजस्तै देखिन थालेको छ। उनको नम्रता, स्पष्ट दृष्टिकोण र गम्भीर ढंगले जनसंवाद गर्ने शैलीले नेपाली युवाहरूमा अब राजनीति केवल “सत्ता लिने माध्यम” होइन, सेवाको माध्यम बन्न सक्छ भन्ने विश्वास पलाएको छ।

सीमासँगै रहेका गाउँहरू—जस्तै बिहारसँग जोडिएका नेपालका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाहरूमा अब जनस्तरमा राजनीतिक बहस र वैकल्पिक सोचहरू उठ्न थालेका छन्। “हामीले पनि नेता होइन, नीति खोज्ने समय आएको छ” भन्ने स्वरहरू बलियो बन्दै गएका छन्।

यो चेतनाको फैलावट लोकतन्त्रको स्वस्थ संकेत हो। तर यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न स्थानीय युवाहरूको जागरण र संगठन आवश्यक छ।

अब प्रश्न हामीमाथि छ:
के हामी यो चेतनालाई केवल हेरिरहन्छौं, कि यसबाट सिकेर आफ्नै समाजमा परिवर्तन ल्याउने नेतृत्व उठाउँछौं?

लेखक : सुनिल प्रसाद कुशवाहा
समाजिक अभियान्ता

spot_img

ताजा अपडेट

लोकप्रिय