काठमाडौं, २२ असार । विश्वप्रसिद्ध अर्बपति उद्यमी एलन मस्कले अमेरिकी राजनीतिक परिदृश्यमा ठूलो हलचल ल्याउँदै नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका छन्।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी रहिसकेका मस्कले शनिबार सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मार्फत् नयाँ दल खोलिएको जानकारी दिएका हुन्। यद्यपि, उनले पार्टीको औपचारिक दर्ता भइसकेको छ कि छैन भन्ने खुलाएका छैनन्। पार्टीको संगठनात्मक स्वरूप वा नेतृत्व संरचनाबारे पनि विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।
बीबीसीका अनुसार अमेरिकाको संघीय निर्वाचन आयोग (FEC) ले शनिबारसम्म उक्त पार्टी दर्ता सम्बन्धी कुनै जानकारी पुष्टि गरेको छैन।
मस्कले भनेका छन् कि ‘अमेरिका पार्टी’ ले रिपब्लिकन र डेमोक्रेटजस्ता परम्परागत दुई ठूला दललाई प्रत्यक्ष चुनौती दिनेछ। अमेरिकी राजनीतिक प्रणालीमा वैकल्पिक शक्तिको खाँचो भएको भन्दै उनले नयाँ धार ल्याउने दाबी गरेका छन्।
याद रहोस्, मस्कले ट्रम्प प्रशासनमा सरकारी खर्च कटौतीसम्बन्धी समितिको प्रमुखको रूपमा काम गरेका थिए। आन्तरिक मतभेदका कारण पदबाट राजीनामा दिएलगत्तै उनले नयाँ दल खोल्ने संकेत दिएका थिए।
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए र २५ करोड अमेरिकी डलर चन्दा दिएका खबरहरू पनि निकै चर्चित भएका थिए।

