काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा रहेको एक पक्की पुल भत्किँदा गम्भीर दुर्घटना भएको छ। वडोदरा र आणंद जोड्ने महिसागर नदीको पुल भासिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा कम्तीमा ४ वटा सवारी साधन नदीमा खसेका थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गुजरातका गृहमन्त्री हर्ष सांघवीले घटनास्थलबाट ९ जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनले बचाउ कार्य जारी रहेको र थप विवरणहरू संकलन भइरहेको जानकारी दिएका छन्।
सरकारी विवरणअनुसार उक्त पुल सन् १९८५ मा निर्माण गरिएको थियो। गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार पुलमा बेलाबेला मर्मत कार्य हुँदै आएको भए पनि यस्तो भयानक दुर्घटना हुनु चिन्ताजनक विषय भएको बताएका छन्। घटनापछि स्थानीय प्रशासन, प्रहरी र राष्ट्रिय विपद् प्रतिक्रिया टोली (NDRF) परिचालन गरिएको छ। नदीमा खसेका अन्य गाडी खोज्न उद्धार कार्य जारी छ भने पुल भत्किनुको कारणबारे छानबिन सुरु गरिएको छ।

