काठमाडौं,२७ असार । विदेश यात्रा गर्ने नेपालीहरूका लागि अब विदेशी मुद्रा साट्न अझ सजिलो हुने भएको छ। नेपाल राष्ट्र बैंकले सटही सुविधा अन्तर्गत नेपाली नागरिकले अब अधिकतम ३,००० अमेरिकी डलरसम्म लैजान पाउने व्यवस्था गरेको छ।
यसअघि सटही सीमा २,५०० डलर थियो। राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यो निर्णय घोषणा गरिएको हो।
यो नयाँ व्यवस्था लागू भएपछि विदेश भ्रमण गर्ने यात्रुहरूलाई यात्रा खर्च व्यवस्थापन गर्न थप सहजता मिल्ने अपेक्षा गरिएको छ। विशेषगरी पर्यटन, स्वास्थ्य उपचार, तालिम, वा अन्तर्राष्ट्रिय सम्मेलनमा जाने यात्रुहरूका लागि यो निर्णय सकारात्मक परिवर्तनको रूपमा हेरिएको छ।
राष्ट्र बैंकको यो निर्णयले विदेशी मुद्रा व्यवस्थापनमा लचिलोपन ल्याउने संकेत पनि गरेको छ। यो नियम बैंकमार्फत सटही सुविधा लिने नेपाली नागरिकहरूका लागि लागू हुनेछ।

