काठमाडौं,२८ असार । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण जनधनको ठूलो क्षति भएको छ। असार १२ देखि हालसम्म विभिन्न स्थानमा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा ९८ जनाको ज्यान गएको छ भने १८५ भन्दा बढी नागरिक घाइते भएका छन्।
शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (NDMA) को प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन्।
सबैभन्दा बढी क्षति पञ्जाब प्रान्तमा भएको छ, जहाँ ३७ जनाले ज्यान गुमाएका छन्। तीमध्ये २० जना बालबालिका छन्। खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाको मृत्यु भएको छ भने अन्य प्रान्तहरूमा पनि जनधनको क्षति भइरहेको छ।
प्राधिकरणले आगामी दिनहरूमा अझै भारी वर्षा हुने पूर्वानुमान दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तल्लो भू–भाग, नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई सुरक्षाको लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ।
देशका बाढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको NDMA ले जनाएको छ।

