सिरियामा जातीय झडप, ८९ जनाको मृत्यु

spot_img

काठमाडाैं,३१ असार । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा ड्रुज र सुन्नी बेदुइन समुदायबीच भएको जातीय झडपमा कम्तीमा ८९ जनाको मृत्यु भएको छ।

सिरियाली मानवअधिकार निगरानी संस्थाका अनुसार मृत्यु हुनेमध्ये ४६ जना ड्रुज, १८ जना सुन्नी लडाकु, १४ जना सर्वसाधारण र ७ जना सैनिक पोसाकमा रहेका अज्ञात व्यक्ति रहेका छन्। बाँकी ४ जनाको पहिचान हुन बाँकी रहेको जनाइएको छ।

झडपको सुरुवात आइतबार बेदुइन समूहले दमास्कस जाने राजमार्गबाट एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरेपछि भएको बताइएको छ। अपहरणको घटनाले प्रतिशोधको रूप लिएपछि सशस्त्र भिडन्तमा परिणत भएको हो। सोमबारसम्म जारी झडपमा गाउँहरूमा मोर्टार आक्रमण हुँदा दर्जनौं सर्वसाधारण घाइते भएको स्वेइदा २४ समाचार संस्थाले जनाएको छ।

झडपपछि स्वेइदा क्षेत्र सुनसान बनेको छ भने बजारहरू बन्द छन्। मृत्यु भएकाहरूको अन्त्येष्टि भइरहेको बेला समेत गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्थानीय बासिन्दा अबु तयमले भने, “दुई दिनदेखि निरन्तर अस्थिर रूपमा गोला पड्किरहेका छन्, हामी अत्यधिक त्रासमा छौं।”

यसैबीच, इजरायली सेनाले स्वेइदामा केही ट्यांकमाथि आक्रमण गरेको दाबी गरे पनि विस्तृत विवरण दिएको छैन। सिरियाली सरकारका रक्षा र गृह मन्त्रालयले हिंसा चाँडै नियन्त्रणमा ल्याउने र सर्वसाधारणका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रणका लागि दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल-हिज्रीले भने सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै अन्तर्राष्ट्रिय संरक्षणको माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय