अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, १९७ पुगे डिपोर्ट हुनेको संख्या

spot_img

काठमाडौं,३२ असार । अमेरिकाबाट हालै थप १९ जना नेपाली नागरिक डिपोर्ट भएर स्वदेश फर्किएका छन्। यससँगै डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, गत जेठ २५ गते चार्टर्ड विमानमार्फत ३७ जना नेपाली एकैपटक डिपोर्ट भएर आइसकेपछि क्रमिक रूपमा अन्य नेपालीहरू पनि नियमित उडानमार्फत फर्किरहेका छन्।

“त्यसबेला अमेरिकाले विशेष चार्टर्ड उडानमै पठाएको थियो, अहिले चाहिँ एक–दुई जना गर्दै नियमित डिपोर्ट भइरहेका छन्,” रिजालले जानकारी दिए। डिपोर्ट भएर फर्किएकामध्ये अधिकांश नेपाली तल्लो बाटो (illegal routes) हुँदै अमेरिका प्रवेश गर्न खोज्नेहरू हुन्। प्रहरीका अनुसार, उनीहरूले बिचौलियामार्फत ५० लाखदेखि ९० लाख रुपैयाँसम्म खर्च गरी अमेरिका पुग्ने प्रयास गरेका थिए।

यात्राको क्रममा उनीहरू दक्षिण अमेरिका, मध्यपूर्व र युरोपजस्ता मुलुक हुँदै अन्ततः अमेरिका प्रवेश गर्ने योजना बनाउने गरेको खुल्न आएको छ।मानव तस्करीमा संलग्न गिरोहबारे जानकारी पाउने उद्देश्यले विमानस्थलमै प्रहरीले डिपोर्ट भएकाहरूलाई सोधपुछ गरेको थियो। तर, हालसम्म प्रहरीले कुनै उपयोगी सूचना प्राप्त गर्न सकेको छैन।

“उनीहरूलाई पठाउने व्यक्ति प्रायः चिनजानकै हुने, र फेरि विदेश पठाइदिने आश्वासन दिने हुँदा पीडितहरूले उजुरी गर्नै चाहँदैनन्,” मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक अधिकारीले बताए।

३७ जनाको डिपोर्टपछि प्रहरीले राति उनीहरूलाई छुटाएको र भोलिपल्ट सम्पर्क गर्ने भनिए पनि कोही नआएको प्रहरीको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय