spot_img

धनुषा प्रहरीका सई सागर शमशेर जबरा ‘पुलिस अफ दि मन्थ’ घोषित

spot_img
spot_img

बीरगन्ज,३२ असार । धनुषा जिल्ला प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको छ। अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सई जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको सफल अनुसन्धान गरी प्रहरी संगठनको छविमा सकारात्मक प्रभाव पारेको भन्दै यो सम्मान प्रदान गरिएको हो।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, सई जबराले केही महत्त्वपूर्ण घटनाहरूको अनुसन्धानमा विशेष भूमिका खेलेका छन्। चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ मा श्रीमतीको हत्या गरी शव गाडेको घटनामा संलग्न हरिराम यादवको गिरफ्तारीमा उनको विशेष भूमिका रहेको थियो।

त्यस्तै, असार १८ गते जनकपुरमा भएको चक्कु प्रहार घटनापछि फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्न पनि सई जबराले महत्त्वपूर्ण योगदान दिएका थिए। विद्युतीय अपराध, ठगी, आपराधिक लाभ लगायतका अभियोगमा फरार रहेका अभियुक्त हनिफ नदाफको गिरफ्तारीमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

एसपी रेग्मीले सई सागर शमशेरको व्यावसायिक दक्षता, इमानदारी र जिम्मेवारीप्रतिको निष्ठा प्रहरी संगठनका लागि प्रेरणादायी रहेको बताए। उनले भने, “उनको कार्यले समाजमा प्रहरीप्रतिको विश्वास बढेको छ र सकारात्मक सन्देश प्रवाह भएको छ।” धनुषा प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई हरेक महिना ‘पुलिस अफ दि मन्थ’ घोषणा गरी सम्मान गर्ने परम्परा सुरु गरेको छ। यसबाट प्रहरी संगठनभित्र प्रेरणा र कार्यक्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय