spot_img

बिरामीको चाप बढेसँगै नारायणी अस्पतालमा स्वास्थ्य सेवा चुनौतीपूर्ण

spot_img
spot_img

बीरगन्ज,३० जेठ । बीरगन्जस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेपछि स्वास्थ्य सेवा व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ। सीमित पूर्वाधार र जनशक्तिका बीच लामो समयदेखि सेवा दिँदै आएको अस्पतालमा अहिले आपत्कालीनदेखि सामान्य वार्डसम्म दबाब बढेको छ।

अस्पताल स्रोतका अनुसार निजी अस्पतालहरूमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा सीमित भएपछि धेरै बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका छन्। साथै, बढ्दो गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले उपलब्ध सीमित स्रोतसाधनका बाबजुद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा दिइरहेको बताए। तर जनशक्ति र पूर्वाधार अभावका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक दबाबमा काम गर्न बाध्य भएको उनको भनाइ छ।

बढ्दो बिरामी चापले सेवा प्रवाह र उपचार व्यवस्थापन थप जटिल बनेको अस्पतालको भनाइ छ। आपत्कालीन कक्षमा अत्यधिक भीडका कारण बिरामी व्यवस्थापन कठिन भएको र शय्या अभावका कारण केही बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था समेत आएको बताइएको छ।

यसैबीच, स्थानीयवासी र सेवाग्राहीहरूले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी संख्या वृद्धि गर्न, शय्या विस्तार गर्न र आवश्यक उपकरण तथा पूर्वाधार विकासमा ध्यान दिन सरकारसँग माग गरेका छन्।

स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि सरकारी अस्पतालमा बढ्दो चाप व्यवस्थापन गर्न योजनाबद्ध लगानी र संरचनागत सुधार आवश्यक रहेको बताउँदै समयमै सुधार नभए सेवा प्रवाह अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय