काठमाडाैं,३२ असार । भारतको राजधानी दिल्लीका करिब १० विद्यालय र एक कलेजमा बम राखिएको भन्दै इमेलमार्फत चेतावनी आएपछि पठनपाठन अस्थायी रूपमा रोकिएको छ।
पछिल्लो तीन दिनमा लगातार आएको धम्कीपछि सरदार पटेल स्कुल, सेन्ट थोमस स्कुल (द्वारका), वसन्त भ्याली स्कुल (वसन्त कुन्ज), मदर इन्टरनेसनल स्कुल (हौज खास), रिचमन्ड ग्लोबल स्कुल (पश्चिम विहार) लगायतका विद्यालयमा प्रहरी र बम डिस्पोजल टोली खटाइएको छ।
बुधबार बिहान सरदार पटेल स्कुल पूर्णरूपमा बन्द गरिएको छ। यसअघि दिल्ली विश्वविद्यालयअन्तर्गतको सेन्ट स्टिफन कलेजमा पनि बम राखिएको भन्दै चेतावनी आएको थियो, जहाँ पुस्तकालयमा बम राखिएको दाबी गरिएको थियो।
दिल्ली प्रहरीले घटनास्थलमा विशेष सुरक्षा टोली, बम डिस्पोजल युनिट, तालिमप्राप्त कुकुर र अग्नि नियन्त्रण टोली तैनाथ गरी परिसरको सुरक्षा जाँच गरिरहेको जनाएको छ।
इमेलमार्फत आएको चेतावनीपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुलमा फायर टेन्डर र प्रहरी पठाइएको थियो। बम डिस्पोजल टोलीले विद्यालयको पूर्ण सरसफाइ र जाँच गरिरहेको दिल्ली प्रहरीले जानकारी दिएको छ।
यसअघि सोमबार चाणक्यपुरी र द्वारकाका दुई विद्यालयमा पनि यस्तै चेतावनी आएको थियो। यद्यपि अहिलेसम्म कुनै पनि स्थानबाट विस्फोटक पदार्थ फेला परेको छैन। चाणक्यपुरी स्कुलमा पठाइएको इमेलमा तमिलनाडु सरकारविरोधी सन्देश समेत रहेको बताइएको छ।
दिल्ली प्रहरीले सबै इमेल र चेतावनीको स्रोतको अनुसन्धान गरिरहेको जनाएको छ भने अन्य शैक्षिक संस्थाबाट अहिलेसम्म यस्तै चेतावनी नआएको स्पष्ट गरेको छ।

