काठमाडौं,०१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी, क्यारेबियन लगायतका साना राष्ट्रहरूबाट आयात हुने वस्तुहरूमा करिब १० प्रतिशत भन्सार शुल्क लगाउने तयारी रहेको बताएका छन्। मंगलबार पत्रकारहरूसँगको संक्षिप्त संवादमा उनले भने, “हामी सम्भवत: सबै देशका लागि समान दरमा भन्सार लगाउनेछौं — लगभग १० प्रतिशत या केही बढी।”
ट्रम्प प्रशासनका अनुसार यस्तो नीति विशेषतः साना र अमेरिकासँग थोरै मात्र व्यापार गर्ने देशहरूलाई लक्षित गरी ल्याउन लागिएको हो। अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले यस घोषणालाई स्पष्ट पार्दै, “यसबाट अमेरिकी व्यापार घाटामा सिधा प्रभाव नपर्ला, तर ट्रम्पको दीर्घकालीन व्यापार सन्तुलन नीति अनुरूपको कदम हो,” भने।
यसअघि ट्रम्पले एकैपटक दुई दर्जन देश र युरोपेली संघलाई सम्बोधन गर्दै अगस्ट १ देखि नयाँ भन्सार नीति लागु हुने जनाउँदै पत्राचार गरेका थिए। साथै, औषधिजन्य वस्तुहरूमा पनि थप शुल्क लगाउने योजना उनले अघि सारेका छन्। यद्यपि, विदेशमा रहेका औषधि कम्पनीहरूलाई एक वर्षभित्र अमेरिका भित्र उद्योग स्थापना गर्न समय दिइनेछ, र त्यस अवधिमा करको दर सीमित राखिने ट्रम्पले बताएका छन्।
ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिका पहिले नै मेक्सिकोका वस्तुमा २५ प्रतिशत कर थपिसकेको थियो। पछिल्लो साता ट्रम्पले पुनः ३० प्रतिशत कर वृद्धि घोषणा गर्दै मेक्सिको र युरोपेली संघ (EU) लाई लक्षित गरे। सन् २०२५ को जनवरीमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पले लगातार व्यापारिक साझेदार राष्ट्रहरूलाई उच्च भन्सार दरको दबाब दिँदै आएका छन्।
ट्रम्पको यो आक्रामक ‘ट्यारिफ एक्सन’ बाट विश्व बजार प्रभावित भएको छ भने विश्वव्यापी आर्थिक मन्दीको चिन्ता पनि गहिरिँदै गएको छ। युरोपेली संघले अमेरिकाको निर्णयको तीव्र आलोचना गर्दै यस्तो कदमले आपूर्ति शृंखलामा गम्भीर अवरोध आउन सक्ने चेतावनी दिएको छ। तर उनीहरू वार्ताको लागि अझै खुल्ला रहेको जनाएका छन्।
यसबीच अमेरिका केही देशहरूसँग सहमति गर्न सफल भएको छ, बेलायत र भियतनामसँग सम्झौता भइसकेको छ भने चीनसँग जारी व्यापारिक तनाव केही हदसम्म मत्थर पारिएको छ।

