काठमाडौं,०१ साउन । भारतभरि मनसुनसँगै सुरु भएको प्राकृतिक विपद्को श्रृंखला जारी छ। देशका विभिन्न भागहरूमा अत्यधिक वर्षा, बाढी, चट्याङ र पहिरोले जनधनको ठूलो क्षति पुर्याइरहेको छ।
बिहारमा चट्याङले २० जनाको ज्यान
बुधबार मात्रै बिहारका विभिन्न जिल्लामा चट्याङ लागेर २० जनाको मृत्यु भएको पुष्टि भएको छ। नालन्दा जिल्लालगायतका तल्लो तटीय क्षेत्रहरू अहिले बाढीको उच्च जोखिममा छन्। झारखण्डमा भइरहेको अविरल वर्षापछि फाल्गु नदीको पानीको सतह तीव्र गतिमा बढिरहेको छ।
यद्यपि मनसुन सुरु भएदेखि हालसम्म बिहारमा औसतभन्दा ४६ प्रतिशत कम वर्षा मात्र भएको सरकारी तथ्यांकले देखाउँछ, तर स्थानीय रुपमा अत्यधिक वर्षा र चट्याङले जनधनमा गम्भीर असर पारिरहेको छ।
हिमाचल प्रदेशमा भारी वर्षा, १०६ को मृत्यु
जुन २० यता हिमाचल प्रदेशमा भइरहेको अत्यधिक वर्षा, बाढी र बादल फाट्ने घटनाले १०६ जनाको ज्यान लिएको छ। यसले राज्यभरि सरकारी तथा निजी गरी झन्डै ८१८ करोड भारतीय रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
स्थान–स्थानमा सडक अवरुद्ध, घर बग्ने, पुल भत्किने र यातायातमा व्यापक असर परेको छ। राज्य सरकारले विपद् व्यवस्थापनलाई उच्च सतर्कतामा राखेको छ।
दिल्ली–एनसीआर क्षेत्रमा पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ, जसका कारण बुधबार दिल्ली विमानस्थलमा अवतरण गर्ने ६ वटा उडान डाइभर्ट गरिएको छ।
त्यस्तै, जम्मु कश्मीरमा भारी वर्षाको चेतावनीका कारण प्रसिद्ध अमरनाथ यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सो निर्णय गरिएको भारतीय प्रशासनले जनाएको छ।

