spot_img

इराकको सुपरमार्केटमा भीषण आगलागी : ६० को मृत्यु, ११ बेपत्ता

spot_img
spot_img

काठमाडौं,०१ साउन । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भएको भयावह आगलागीमा परी कम्तीमा ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन्।

शहरका एक स्वास्थ्य अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, ५९ शवको पहिचान भइसकेको छ भने एउटा शव अत्यधिक जलेकाले पहिचान गर्न गाह्रो भइरहेको छ। इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो सपिङ मल पाँच दिनअघि मात्रै सञ्चालनमा आएको थियो। हाल आगो नियन्त्रणमा आएको बताइएको छ।

आगलागीको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। तर, गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र आगामी ४८ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा पाँचतले भवन पूरै आगोले ढाकिएको र दमकलकर्मी आगो निभाउने प्रयासमा जुटिरहेको देखिन्छ । एक प्रत्यक्षदर्शीका अनुसार, आगलागी पहिलो तल्लाबाट सुरु भई पूरै भवनमा फैलिएको थियो र यो एक एयर कन्डिसनर विस्फोटबाट सुरु भएको अनुमान गरिएको छ।

इराकको गृह मन्त्रालयका अनुसार, सिभिल डिफेन्स टोलीले ४५ भन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन् । घटनापछि पूरा प्रदेशमा तीन दिनको शोक घोषणा गरिएको छ । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल(सुदानीले गृहमन्त्रीलाई घटनास्थलमा पुगेर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन् । इराक लामो समयदेखि आन्तरिक द्वन्द्वबाट गुज्रिरहेको देश हो जहाँ सुरक्षा मापदण्डहरूमा खास ध्यान नदिइने कारण यस्ता दुर्घटनाहरू बारम्बार भइरहने गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय