काठमाडौ,०५ साउन । बंगलादेशको राजधानी ढाकामा सोमबार दिउँसो भएको एक दर्दनाक विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन्, जसले मुलुकभर शोकको लहर फैलिएको छ।
ढाकाको उत्तरा क्षेत्रको दियाबारीस्थित माइलस्टोन स्कुलमा बंगलादेश वायुसेनाको एफ–७ बीजेआई नामक लडाकु प्रशिक्षण विमान खसेको थियो। विमान स्कुलको भवनमा ठोक्किनुका साथै त्यसपछि आगलागी समेत भएको बताइएको छ।
वायुसेनाको विमान सोमबार दिउँसो १:०६ बजे उडान भरेको थियो। केही मिनेटमै विमानले नियन्त्रण गुमाउँदै स्कुलको गेट र भवनमा ठोक्कियो। दुर्घटनाको समयमा कक्षा सकिएर विद्यार्थीहरू घर फर्कन तयार भइरहेका थिए।
स्कुलका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलासँग कुरा गर्दै भने, “एक्कासि ठूलो आवाज आयो र विमान सिधै भवनमा ठोक्कियो। नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा क्षति पुगेको छ। आगोले गेट पनि पूरै जलेर नष्ट भयो।”
घाइतेहरूलाई ढाकास्थित राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल तथा उत्तरा मोडर्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
बंगलादेशको अन्तर–सेवा जनसम्पर्क (ISPR) शाखाले दुर्घटनाबारे विज्ञप्ति जारी गर्दै तत्कालै उद्धारमा खटिएको जनाएको छ। अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट घटनास्थलमा पुगेका थिए।
घटनापछि बंगलादेश सरकारले मंगलबार (२२ जुलाई) लाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। यस दिन सबै सरकारी, अर्ध–सरकारी, स्वायत्त संस्था र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
यो दुःखद दुर्घटनाले बंगलादेशलाई स्तब्ध बनाएको छ। शोकमा डुबेका नागरिकहरूले सामाजिक सञ्जालमार्फत शोक र श्रद्धाञ्जली व्यक्त गरिरहेका छन ।

