काठमाडौँ,०६ साउन । बंगलादेशको राजधानी ढाकामा भएको एक विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ, जसमा २५ जना बालबालिका छन्। ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा बंगलादेश वायुसेनाको एफटी–७बीजीआई लडाकु प्रशिक्षण विमान ठोक्किँदा यो दुर्घटना भएको हो।
मृतकमध्ये २५ जना विद्यालयका बालबालिका, एक जना शिक्षक र एक जना विमान चालक रहेको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा घाइते भएका ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हालसम्म २० जनाको शव परिवारलाई जिम्मा लगाइएको छ।
बंगलादेश सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार सोमबार दिउँसो १:०६ बजे कुर्मितोला हवाई आधारबाट उडेको विमान उडेको १२ मिनेटमै विद्यालय भवनमा खसेको हो। प्रारम्भिक रिपोर्टअनुसार मेसिनरी समस्या देखिएपछि विमानमा नियन्त्रण गुमेर दुर्घटना भएको हुन सक्ने बताइएको छ।
दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ। मंगलबार देशभरका सरकारी, अर्धसरकारी, स्वायत्त निकाय र शैक्षिक संस्थानहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।

