काठमाडौँ, ११ साउन । भारतको उत्तराखण्डस्थित हरिद्वारको प्रसिद्ध मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा परी ६ जना श्रद्धालुको मृत्यु भएको छ। मृतकमध्ये एक जना बालक रहेका छन्।
गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेका अनुसार भीड अत्यधिक भएपछि अचानक अफरातफरी मच्चिएको थियो। समाचार एजेन्सी ANI सँग कुरा गर्दै उनले घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
वरिष्ठ प्रहरी अधीक्षकका अनुसार, भागदौड मन्दिरभन्दा करिब १०० मिटर तल सिँढीको क्षेत्रमा भएको हो।
घटनाको कारण आधिकारिक रूपमा खुलाइएको छैन, तर प्रारम्भिक अनुमानअनुसार, बिजुलीको तार चुँडिएर करेन्ट लागेको भन्ने अफवाह फैलिएपछि भीडमा आतंक मच्चिएको हो।
आइतबार परेका कारण मन्दिरमा विशेष भीड रहेको थियो। श्रद्धालुहरूले सुरक्षित स्थान खोज्दै हतारिँदा धेरैजना लडे र चेपिएर ज्यान गुमाए।
स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरेको र घाइतेको उपचार भइरहेको जनाएको छ।

