अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युब र सामाजिक सञ्जालमा प्रतिबन्ध

spot_img

काठमाडाैं,१४ साउन । अष्ट्रेलियाले १६ वर्ष नपुगेका बालबालिकाका लागि युट्युबसहित सबै प्रमुख सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। डिसेम्बर १० देखि लागू हुने यो नयाँ नियमअनुसार बालबालिकाले युट्युबमा आफ्नै नाममा खाता खोल्न र सामग्री पोस्ट गर्न नपाउने छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा पत्रकार सम्मेलन गर्दै बालबालिकालाई सामाजिक सञ्जालबाट हुने मानसिक र सामाजिक हानि न्यूनीकरणका लागि यो कदम चालिएको जानकारी दिएका हुन्।

यसअघि गत नोभेम्बरमा सरकारले टिकटक, फेसबुक, स्न्यापच्याट र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा पनि १६ वर्षमुनिका प्रयोगकर्तालाई प्रतिबन्ध लगाउने कानुन पारित गरिसकेको थियो। तर, युट्युब त्यसबेला उक्त सूचिमा थिएन। अहिले युट्युबलाई समेत समेटेर अष्ट्रेलियाले विश्वमै पहिलोपटक सबै सामाजिक सञ्जालमाथि उमेर-सीमित कानुन कार्यान्वयन गर्न लागेको हो।

नयाँ कानुनअनुसार १६ वर्षमुनिका बालबालिकाले उमेरअनुकूल सामग्री हेर्न भने सक्नेछन् तर पोस्ट गर्न, खाता खोल्न वा सामग्री सेयर गर्न पाउने छैनन्।

सरकारले यदि सामाजिक सञ्जाल कम्पनीहरूले यो कानुन पालना नगरेमा ५ करोड अष्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान समेत समेटेको छ।

ई-सेफ्टी कमिश्नर जुली इनमान ग्रान्टका अनुसार गरिएको एक सर्वेक्षणमा २६ सय बालबालिकामध्ये ४० प्रतिशतले सामाजिक सञ्जालमार्फत हानिकारक सामग्रीको सामना गर्नु परेको तथ्य भेटिएको छ।

सेन्टर फर एक्सेलेन्स इन चाइल्ड एन्ड फ्यामिली सर्भिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार १३–१५ वर्ष उमेर समूहका ९५ प्रतिशत बालबालिकाले विगत वर्ष सामाजिक सञ्जाल प्रयोग गरेका थिए भने ८–१२ वर्ष समूहका १३ लाखमध्ये ३६ प्रतिशतको आफ्नै खाता थियो।

सरकारको भनाइमा, शिक्षा, स्वास्थ्य तथा बालमैत्री गेमिङ एपहरू भने यस प्रतिबन्धको दायरामा पर्ने छैनन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय