बन्धक परिवारद्वारा इजरायललाई शान्ति सम्झौताका लागि दबाब

spot_img

काठमाडौं,१८ साउन । गाजामा हमासद्वारा बन्धक बनाइएका आफ्ना आफन्तको रिहाइको माग गर्दै इजरायलको राजधानी तेल अविवमा बन्धक परिवारहरूले विशाल विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सरकारमाथि तत्काल युद्धविराम र शान्ति सम्झौताको पहल गर्न दबाब दिएका छन्।

गत अक्टोबरमा हमासले अपहरण गरेका २५१ जना मध्ये करिब २० जना अझै जीवित रहेको अनुमान छ। यसै साता हमास र इस्लामिक जिहादले बन्धकहरूको भिडियो सार्वजनिक गरेपछि जनआक्रोश झन् चुलिएको हो। बन्धकहरूको पीडा झल्काउने ती भिडियोहरूले सार्वजनिक भावना झस्काएको छ।

प्रदर्शनमा सहभागी ‘होस्टेज एन्ड मिसिङ फ्यामिली फोरम’ का प्रमुख रणनीति अधिकारी लिओर चोरेभले भने, “यो दुःस्वप्न अब रोकिनुपर्छ। हामी सरकारसँग माग गर्छौं—तत्काल सम्झौतामा पुगेर हाम्रा प्रियजनलाई घर फर्काउने पहल गर।”

बन्धक र युद्धविराम प्रकरणमा अन्तर्राष्ट्रिय दबाब पनि बढ्न थालेको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले एक साता अघि युद्धविराम वार्ता थालनीको पहल गरेका थिए। उनले हमासको अडानलाई अव्यवहारिक ठहर गर्दै बन्धकहरूलाई अविलम्ब रिहा गर्न अपिल गरेका थिए। साथै, गाजा क्षेत्रको सुरक्षा सुनिश्चित गर्न अन्य वैकल्पिक उपाय खोजिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

इजरायल सरकारले भने बन्धकको रिहाइ सुनिश्चित गर्न कूटनीतिक र सैनिक विकल्पको प्रयोगमा छलफल जारी रहेको जनाएको छ। तर बन्धक परिवारहरू सरकारको हालको नीति पर्याप्त नरहेको बताउँदै शान्ति सम्झौता नै मुख्य बाटो भएको तर्क गर्दै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय